दाइजोको निहुँमा हत्याः आरोपीत पति २ वर्षपछि पक्राउ

राजविराज, ५ मंसिर । सप्तरीमा दाइजो (दहेज)वापत मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर आफ्नी पत्नीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ छन् ।

लुकमानले आफ्ना परिवारिक सदस्यहरुसँग मिलेर २०७६ फागुन २ गते आफ्नी पत्नी २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनासँगै मृतकका बुवा जहिरुदिनले ईलाका प्रहरी कार्यालय कडरबोननामा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा २०७७ मंसिर २९ गते उच्च अदालतले परमादेश गरेपछि लुकमानलाई पक्राउ गरिएको हो । जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीया हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न छन् । यद्यपी, प्रहरीले उनीहरुलाई पक्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मो.फिरोजले गुनासो गरे ।

उनका अनुसार २०७६ मंसिर ३० गते लुकमानसँग बहिनी (रोशन खातुन)को विवाह भएको थियो । सोपछि दाइजो माग्दै पटक पटक धम्की दिँदै आएको र दाइजो नदिएपछि वहिनालाई कुटपिट गर्दै विष खुवाएको मो.फिरोजले बताए । ‘वहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा मोवाइल फोनमा हामीलाई सबै सुनाएकी थिइन्, ती रेकर्डहरु हामीसँगै छ’ उनले भने–‘जसरी पनि हामीलाई न्याय चाहिएको छ ।’

विष खुवाइएपछि गम्भीर भएकी बहिनीलाई विराटनगरस्थित गोलडेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मो.फिरोजले बताए ।

उता, ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टर विरेन्द्र पासवानले अदालतको पत्रअनुसार हामीले लुकमानलाई पक्राउ गरी मुद्दा दर्ता गरेको बताए । ‘अन्य संलग्न भनिएकाहरुको पनि खोजी जारी छ’ उनले मधेशलाइभलाई भने–‘उनीहरुलाई पनि छिटै पक्राउ कानूनी प्रक्रिया अघि बढाउँछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस