स्थानीय सरकार अझैं अपाङ्गमैत्री हुन सकेन : यादव

कमल कुमार मण्डल

राजविराज, १७ मंसिर । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले देशमा संघीयता आएपनि अपाङ्गता भएका व्यक्तिहरुप्रति स्थानिय सरकारले अझैं विशेष चासो नदिएको बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रवार ३० औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजना गरिएको सामाजिक सेवामा अपाङ्गता भएका व्यक्तिहरुको विकास विषयका छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अपाङ्गता भएका व्यक्तिहरुप्रति अझैं स्थानिय सरकारले आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन्’ उनले भने–‘स्थानिय तहमा अधिकारबाट बञ्चित रहेका अपाङ्गता भएका व्यक्तिहरुकालागि सम्बन्धित निकायलाई ध्यान केन्द्रित गराउन सगरमाथा अपाङ्ग कल्याण संघ र सप्तरी अपाङ्गता संघलाई आग्रह छ ।’

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ऐन कानूनअनुसार अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधान तथा हक र अधिकारलाई सुनिश्चित गर्न स्थानिय सरकारसँग समन्वय भइरहेको बताए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विस्तारित रुपमा वास्तविक तथ्याङक संकलन गरी आवश्यक सेवा सुविधाप्रति केन्द्रित भएर कार्य हुनुपर्ने जोड दिए ।

सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव कुमार मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा ऐमरेष्ट बैंकका प्रतिनिधि कृष्णचन्द्र कर्ण, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक देव कृष्ण भगत, समाजसेवी हित नारायण दास, मैथिल महिला परिषद्का प्रतिमा देवलगायतले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस