रेल नचल्दा घाटा, चले दिनकै ७ लाख घाटा

काठमाडौँ । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुने देखिएको हो । भारतबाट ल्याउन लागिएका २६ जना प्राविधिकको दिनको खर्च ३ लाखभन्दा बढी हुनेछ ।

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ । यस्ता पाइलट चार जना रहनेछन् । सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेछ । नेपाली कर्मचारी पनि १ सय ५१ जना रहनेछन् । उनीहरूका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ ।

रेलका लागि इन्धन खर्च प्रतिदिन १ लाख ३० हजार रुपैयाँको हुने झाले बताए । भारतीय रेलवे कम्पनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु ९३५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको छ । यसबापत पहिलो किस्ताका रूपमा साढे सात करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ । कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनको खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए । ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने, ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ ।’ टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुनेछ ।

अहिले नेपाल रेलवे कम्पनीमा ११ स्थायी र चार जना अस्थायी गरी १५ जना कर्मचारी छन् । तिनका लागि मासिक तलबमा मात्र साढे चार लाख रुपैयाँ खर्च भइरहेको छ । इन्धन, विद्युत्लगायत प्रशासनिक काममा डेढ लाख रुपैयाँ खर्च हुने गरेको कम्पनीका महाप्रबन्धक झाले बताए । यसअनुसार अहिले रेलवे कम्पनीको दिनको खर्च २० हजार रुपैयाँ छ । कान्तिपुर दैनिकमा खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस