गहुँको विउ लुट प्रकरणः गाउँपालिकाको विउ नै नरहेको खुलासा

राजविराज, २ पुस। केही दिनअघि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित एक सभाहलबाट लुटिएको गहुँको विउ गाउँपालिकाको नरहेको खुलासा भएको छ । किसानहरुलाई अनुदानमा वितरण गर्न गहुँको विउ खरिद गर्ने गाउँकार्यपालिकाबाट निर्णय गरिएपनि गाउँपालिकाले अझैंसम्म प्रक्रियागत विउ खरिद नै नगरेको पाइएको हो ।

‘हामीले गाउँकार्यपालिकाबाट किसानहरुकालागि विउ खरिद गर्ने निर्णय गरेकै हो तर अझैसम्म खरिद भने गरेका छैनौं’ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेशकुमार शर्माले मधशलाइभसँग भने–‘किसानहरुले लगेको विउ हाम्रो हुँदै होइन् ।’

पाँच लाखभन्दा बढीको कुनै पनि सरसमान खरिद गर्न केही कानूनी प्रक्रिया अपनाउनुपर्नेमा अझैसम्म ती प्रक्रिया पूरा गर्न नसकिएको उनले बताए । ‘कृषि शाखाका कर्मचारी सिंघेश्वर महतो र गाउँपालिकाका अध्यक्ष ज्यूले कत्तैबाट ती विउ ल्याउनुभएको कुरा बुझिन्छ तर खरिदको कुनै विधि प्रक्रिया अपनापाइएको छैन्’ उनले भने–‘ती विउको गाउँपालिकाबाट भुक्तानी गर्ने कुरा पनि त भएन नि, अब के हो? कसो हो? उहाँहरुले नै बुझोस् ।’

गाउँपालिका श्रोतका अनुसार अध्यक्ष सुर्यनारायण मण्डल र कृषि शाखाका कर्मचारी महतोले एकलौटी ढंगले १ हजार २५ बोरा गहुँको विउ खरिद गरेका थिए । जसमध्ये आफु निकटका व्यक्तिहरुलाई राजविराजमै बोलाएर ५ सय बोरा वितरण गरिरहेका थिए भने ५२५ बोरा गाउँपालिकाकै छेउमा रहेको सभाहलमा राखेका थिए ।

५२५ बोरामध्ये ९७ बोरा विउ वडा नम्वर ६ का अध्यक्ष विरेन्द्र प्रसाद साहले लगेको बताइएको छ भने ४२८ बोरा विउ स्थानीय किसानहरुले लुटेका थिए ।

के भन्छन् गाउँपालिका ?

गाउँपालिका अध्यक्ष मण्डलले सबैसँग छलफलपछि आफुले नै विउ खरिद गरेर सभाहलमा राखेको प्रतिक्रिया दिए । यद्यपी, विउ ल्याउँदा खरिद प्रक्रिया अपनाउन नसकिएको उनले स्वीकार गरे ।

‘किसानहरुलाई विउ छर्न ढिलो भइरहदा खरिद प्रक्रिया अपनाउन सकिएन, तर निमित्त प्रुमख प्रशासकीय अधिकृत शर्मासहितका कर्मचारीहरुसँग छलफल गरेकै थिए’ उनले भने–‘कर्मचारीहरुसँग पिसी मिलान नगर्दा स्थानीय र भारतीय तिर्थयात्रुहरुलाई भेला गराएर विउ लुट्न गराइदियो ।’

उनकाअनुसार संघ सरकारको शसर्त अनुदान अन्र्तगत २० लाख रुपैयाँको विउ ल्याएर छिन्नमस्ता मन्दिरको धर्मशालाको सभाहलमा राखिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस