चेतनाको अभावले कुपोषण बढ्यो : मुख्यमन्त्री राउत

जनकपुरधाम, १६ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारको रुपमा यस प्रदेशमा बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धी जानकारीको आभाव प्रमुख कारण रहेको बताएका छन् ।

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘यो प्रदेश अन्नको भण्डार मात्र होइन, यहाँ दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता छ’ उनले भने–‘तर यसको उपयोग सम्बन्धी जानकारीको आभावमा यहाँका बालबालिकालाई कुपोषणको शिकार हुनु परेको छ ।’

पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले पोषण सम्बन्धि कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारबलाहरुलाई निर्देशन समेत दिए । ‘पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि त्यो सन्तोषजनक छैन’ उनले भने–‘सो कार्यमा तिब्रता ल्याउनुस ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्थाबारे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, संविधान सभा सदसय डा. विजय कुमार सिंहसहितको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस