‘प्रदेश कृषि विश्वविद्यालय’को लागि जग्गा दिने निर्णय

राजविराज, १९ पुस । सप्तरीको राजविजराज नगरपालिकाले ‘प्रदेश कृषि विश्वविद्यालय’को लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतवार बसेको नगर कार्यपालिकाको बैठकबाट वडा नम्वर १३ स्थित विषहरियामा ‘प्रदेश कृषि विश्वविद्यालय’को लागि जग्गा उपलब्ध गराउने निर्णय भएको हो । साविकको विषहरिया गाविस–५ (ख) हाल राजविराज नगरपालिका–१३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधिन्सत संरक्षणमा रहेको जग्गा ‘प्रदेश कृषि विश्वविद्यालय’को लागि उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार कित्ता नं. १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफल अर्थात २६ विग्घा ८ कठ्ठा १८ धुर जग्गा ‘प्रदेश कृषि विश्वविद्यालय’कोलागि उपलब्ध गराइनेछ । सो जग्गा ३० वर्षको लागि भाडामा दिइने निर्णय भएको नगर प्रमुख यादवले बताए ।

निर्णयसँगै आवश्यक सिफारिसकालागि जिल्ला प्रशासन कार्यालय सप्तरीसहित मालपोत कार्यालय र नापी कार्यालय समेतलाई बोधार्थ गरि पठाइएको उनले जानकारी दिए ।

प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको ‘प्रदेश कृषि विश्वविद्यालय’को भौतिक पूर्वाधार विकासकालागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ भने यसअघि राजविराजमै कृषि विश्वविद्यालयको कार्यालय स्थापना समेत गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस