सीके राउतको दाउ–मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने

सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया खण्डमा ट्रकमा आगजनी गरिएको छ। सिके राउतले आह्वान गरेको चक्काजाम गर्ने क्रममा मिर्चैया नगरपालिका–६ बतहा पुलनजिक उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा चार/पाँचजनाको समूहले आगजनी गरेको हो।

आगजनीबाट ट्रकअगाडिको भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए। आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले ट्रकमा आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन्।

आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सडक अवरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता हटाउन खोज्दा झडप भयो। प्रहरीले १६ राउण्ड अश्रु ग्यास र ११ राउण्ड रबरको गोली चलाएर अवरुद्ध सडक खुलायो।

रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भए। घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। गोली चलाउनुअघि सुरक्षाकर्मी र जनमत कार्यकर्ताबीच भएको झडपका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एक गरी दुईजना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्तासमेत रहेका डिएसपी जितेन्द्र बस्नेतले बताए।

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिएको आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस