यी पाँच चिनी उद्योगले तिरेनन् उखु किसानको पैसा

काठमाडौं, २१ पुस । पाँचओटा चिनी उद्योगले किसानलाई उखुको पैसा तिरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हो ।

यसरी लामो समयसम्म कृषकलाई उखुको पैसा नतिरेपछि त्यस्ता उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न भूमि व्यवस्था, गृह र अर्थ मन्त्रालयलाई पत्राचार गरिएको वाणिज्य सचिव दिनेश भट्टराईले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलवारको बैठकमा सचिव भट्टराईले उखु किसानलाई जसरी भए पनि उद्योगबाट भुक्तानी गराउन आफूहरूले पहल गरिरहेको बताए । किसानले भुक्तानी पाउन नसक्दा उखुखेती र उद्योग संख्या पनि २९ बाट घटेर आठओटामा झरेको उनको भनाइ छ ।

समितिको बैठकमा सांसदहरूले उखु किसानप्रति सरकार संवेदनशील नभएको भन्दै चर्को आलोचना गरेका थिए । छलफलमा राजस्व सचिव कृष्णहरि पुष्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए ।

बजेट प्रतिस्थापन विधेयकमा यसलाई समेट्नेबारे छलफल भए पनि तत्काल गर्नुपर्ने तयारी नपुगेको उनको भनाइ थियो । कृषि सचिव गोविन्द शर्माले उखुको मूल्य तोक्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको र बुधवार यसबारे निर्णय हुने बताए ।

सांसदहरूले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । संसदीय समितिले उखु किसानको विषयमा पटक पटक दिएको निर्देशन समेत पालना नभएको उनीहरूले औंल्याएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस