अनलाइन व्यवसाय र बैंकिङका नाममा ठगी बढ्याे, कानुन नमाने कारबाही हुन्छ : गृहमन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले गैर कानूनी रुपमा अनलाईन वा नेटवर्किङ व्यवसाय गरेको पाइए कारावाही गर्ने चेतावनी दिएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अनलाईन वा नेटवर्किङ्ग व्यवसायका नाममा हुने ईजाजत प्राप्त बाहेकका जुनसुकै गतिविधिको निगरानी गर्ने, नियन्त्रण गर्ने र त्यस्ता गैरकानूनी कार्य गरेको पाईए कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

नागरिकलाई आर्थिक लाभ पुयाउने प्रलोभनमा पछिल्लो समय विभिन्न स्वरुपका गैरकानूनी आर्थिक क्रियाकलाप सञ्चालनबाट आम जनसमुदायमा ठगी र असुरक्षाको वातावरण सृजना भएका गुनासा मन्त्रालयलाई प्राप्त भएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाईन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा नेटवर्किङ ब्यबसाय, अनलाईन व्यवसाय, अनलाईन बैकिङ्ग, अनलाईन सहकारी, अनलाईन बीमा, अनलाईन गेमिङ, घुम्ती बैकिङ्ग वा यस्तै प्रकृतिका अन्य नाममा व्यवसायीक क्रियाकलाप गैर कानूनी रुपमा फस्टाउँदै गएकोले यस किसिमका काम नगर्न नगराउन गृह मन्त्रालय सचेत गराउँदछ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

मन्त्रालयले जुनसुकै व्यापार व्यवसाय वा आर्थिक गतिविधि सञ्चालन गर्न प्रचलित कानून बमोजिम इजाजत लिएको हुनुपर्ने पनि सचेत गराएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस