जनमत पार्टीद्वारा लगाइएको आरोप निराधार : नगर प्रमुख साह

राजविराज, २५ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेश साहले डा.सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा आफु र आफ्नो पार्टीमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् ।

उनले आइतवार पत्रकार सम्मेलन गर्दै दुई दिनअघि राउतको सचिवालयबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विज्ञप्तिका केही बुँदाहरु पनि आपत्तिजनक रहेको बताए ।

उनका अनुसार गत पुस १० गते जनमत पार्टीले वडा ११ स्थित समुदायिक भवनमा किसानको मुद्दालाई लिएर कोणसभाको आयोजना गरेको थियो । सो सभामा वडा अध्यक्ष मोही यादवलाई लक्षित गरी जनमत पार्टीका नेता कार्यकर्ता अपशब्द नै प्रयोग गरेकाले वडा अध्यक्ष पक्षधरले प्रतिवाद गर्दा कार्यक्रम विथोलिएको नगर प्रमुख साहको कथन छ ।

‘दुई दिनअघि राउतको सचिवालयबाट जारी भएको प्रेस विज्ञप्तीमा किसानहरुको पक्षमा भईरहेको सभालाई वडा अध्यक्षले भाडने काम गरेको र त्यसमा नगर प्रमुख साहको पनि भुमिका रहेको आरोप लगाइएको छ’ उनले भने–‘विज्ञप्तीमार्फत जनमत पार्टीले नगर प्रमुख साहकै निर्देशनमा आफ्ना आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी झुठा मुद्दा चलाएको आरोप समेत लगाइएको छ, जून की सरासर गलत हो ।’

प्रहरीले अनुसन्धानका लागी कसैलाई पनि नियन्त्रणमा लिनसक्ने बताउँदै उनले त्यसमा मलाई जोडनुको कुनै औचित्य नरहेको बताए ।

उनले किसानहरुको हकअधिकारका लागि आफु र आफ्ना जनता समाजवादी पार्टी (जसपा) लड्दै आएको दावी गरे । ‘किसानहरुको हकअधिकारका लागि आफु र आफ्ना पार्टी लड्दैआएको कुरा लुकेको छैन’,उनले पत्रकार सम्मेलनमा भने ।

Author:



क्याटोगरी छान्‍नुहोस