प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’मा मतदान गर्न मन्त्री साहको अपिल

जनकपुरधाम, ३ माघ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’मा मतदान गर्न सम्पूर्ण प्रदेशसभा सदस्यहरुमा अपिल गरेका छन् ।

यसअघि गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि प्रदेशको नामकरण र राजधानीको टुंगो लगाउन मतदानमा जाने निर्णय गरिएको थियो । जसअनुसार प्रदेशसभामा आजै मतदान हुने कार्यसूची छ । सोहीलाई लक्षित गर्दै मन्त्री साहले आजै सामाजिक सञ्जालमार्फत प्रदेशको नामकरण ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’मा मतदान गर्न सम्पूर्ण प्रदेशसभा सदस्यहरुमा अपिल गरेका हुन् ।

प्रदेशलाई ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा विचाराधीन छन् ।

यस्तो छ मन्त्री साहको अपिलः
हार्दिक अपिल
माननीय प्रदेशसभा सदस्यज्यूहरू,
अधुरो, अपुरो, त्रुटिपूर्ण र विभेदकारी संविधानबाट प्राप्त सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक सत्ता अभ्यास गरिरहँदा स्वायत्तता र स्वशासन नै निषेधित हुनेगरी अघि बढ्न बाध्य हुनुपरेको कठोर यथार्थबारे अवगत नै छ । विगतमा संविधान निर्माणका स्रोत र आधारहरूलाई उपेक्षा गर्दै जनअभिमतविपरीत संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिक्ताजस्ता कुराहरूलाई वस्तुपरक ढंगले सम्बोधन गरिएन । तर, लोकतान्त्रिक विधि एवम् प्रक्रियाबाटै संशोधन तथा परिमार्जन गराई संविधानलाई पूर्णता दिने कुरामा जनता समाजवादी पार्टी(जसपा) नेपाल प्रतिबद्ध रहँदै आएको छ । र, पार्टीको यस दृष्टिकोणप्रति देशका विभिन्न राजनीतिक शक्तिहरूले विभिन्न सम्झौता र समझदारी गर्दै आफ्ना सहमति व्यक्त गरिसकेका छन् ।
प्रदेशका सातवटा संरचनाप्रति हाम्रो पार्टीको विमति रहे तापनि ऐतिहासिक मधेस जनविद्रोहबाट प्राप्त संघीयतालाई संस्थागत र सुदृढ गर्ने कुरामा हामी निकै सजगता अपनाउँदै आएका छौं । यसक्रममा आजका दिन प्रदेश २ को नामकरण र स्थायी राजधानी निर्धारण गर्ने विषयमा प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशका नाम र राजधानीप्रति प्रदेशवासीको स्वामित्व, अपनत्व र ममत्व अभिव्यक्त हुने ऐतिहासिक र दुरगामी प्रभावका दृष्टिले आजका दिन महत्वपूर्ण हुनेछ । प्रदेशको नामकरण र राजधानी तय गर्ने कुरा सही अर्थमा एउटा कठिन र कष्टसाध्य काम हो । तर, पहिलो प्रदेशसभाका सदस्य भएका नाताले यी जिम्मेवारी पुरा गर्ने दायित्व निर्वहन गर्दा भविष्यमा प्रादेशिक सत्ता र समृद्धिका लागि सुन्दर बाटो प्रशस्त गर्नेछ । संवैधानिक प्रावधान र जनादेशअनुरूप यी काम गर्न हामीले निरन्तर प्रयत्न गरेका छौं । इतिहासका पानामा हाम्रा यी काम सुनौला अक्षरले लेखिने कुरामा म विश्वस्त छु ।
प्रदेशको नामकरण र राजधानीका विषयमा आएका प्रस्ताव र ती प्रस्तावउपर भएका छलफल प्रदेशसभाको सर्वोच्चता र विशिष्ठ्ताको एउटा अविस्मरणीय अध्याय बन्नेछ । संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट हामी नामकरण र राजधानीका विषयमा निचोडमा पुग्दैछौं । जनसङ्घर्षको लामो श्रृंखलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्ने दिन पनि आज नै हो ।
तसर्थ मधेस विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनीन आवश्यक्ताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न म सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूलाई आग्रह गर्दछु ।
बहुविध भाषिक र सांस्कृतिक समुदायलाई सम्बोधन गर्ने मधेस शब्दको स्वीकार्यताले पहिचान र अधिकारप्राप्तिको लडाइलाई अझ सशक्त बनाउन हामीलाई प्रेरणा प्राप्त हुनेछ ।
शैलेन्द्रप्रसाद साह
अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य
प्रदेश २

Author:



क्याटोगरी छान्‍नुहोस