मन्त्री रेणु यादवको अभिव्यक्ति परिस्थितिवश बोलेको सवाल हो : राज्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको अराजक गतिविधि र अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध मात्रै अभिव्यक्ति दिएकी दावी गरेका छन् ।

शुक्रवार उनले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पूर्वाधारमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले कुनै पनि अभिव्यक्ति नदिएको स्पष्ट गरे ।

‘प्रथम शहिद स्व।रमेश महतोको पुण्यतिथिमा समाजवादी युवा संघ नेपालले आयोजना गरेका जिल्लास्तरीय भेला एवम् शहिद परिवार सम्मान कार्यक्रमलाई लक्षित गरेर रौतहट सदरमुकाममा जुन प्रकारका सीके राउतका अराजक गतिविधि र अलोकतान्त्रिक क्रियाकलापहरु देखा परे, त्यो घटनाप्रति हामी मर्माहित छौं’ उनले भने–‘यदी हामीले शान्तिपूर्ण र जिम्मेवारपूर्ण हिसावले पालन नगरेको भए, सम्भव त मिडियामा आएको जस्तो विगतका धेरै कुरा दृष्यहरु हेर्नसक्ने स्थिती हुन्थ्यो, उहाँहरुको हकर्तको कारणले । तर हामी संयमित नै प्रस्तुत भए ।’

कार्यक्रममा सहभागी हुन आइरहेकाहरुलाई गौरका मुख्यद्वारमा बसेका सीके राउतका समर्थकहरुले खेदने र मोटरसाइकलको भाइजर तोडफोड पनि गरेको राज्यमन्त्री यादवले आरोप लगाए । ‘हाम्रो मन्त्री ज्यू र आफुहरु पनि कार्यक्रममा आउन लाग्दा मुल बाटो समेत राउत समर्थकले रोकेर अवरोध पारेकै हो। हामीलाई वैकल्पिक बाटो भएर कार्यक्रमस्थलसम्म पुग्नुपर्ने बाध्यता आइलाग्यो’ उनले पत्रकार सम्मेलनमा भने–‘राउतका समर्थकहरु २०/२५ जना थिए, हामीसँग त हजारौं युवाका शक्ति थियो तर हामीले टकराव गर्न खोजेनौं, जिम्मेवार भएर प्रस्तुत भएकै हो ।’

उनले लोकतान्त्रिक मुलुकमा राउत समर्थकको त्यो दिनको गैरजिम्मेवारीपनाले आफुहरुलाई दुखित तुल्याएको बताए । ‘यद्यपी, मन्त्री रेणु यादव ज्यूको अभिव्यक्तिमाथि सवाल उठिरहदा दुःख लागेको छ, मलाई लाग्छ उहाँको त्यो अभिव्यक्ति परिस्थितिवश बोलेको सवाल हो’ उनले भने–‘कुनै पनि प्रकारले सीके राउतलाई ज्यान मारिदिने वा त्यस्तै घटना घटाइदिने उद्देश्य थिएन ।’

राज्यमन्त्री राय यादवले त्यो दिन मन्त्री रेणुमाथि सांघातिक आक्रमण गर्ने सिके राउतको योजना नै रहेको दावी गरे । ‘हाम्रो १० वटा मोटरसाइकलको भाइजर फुटाइदिएको छ, चार पांगे गाडीमा तोडफोड गरेको छ, सहभागीहरुमाथि भाटा लिएर प्रहार गर्नेसम्मको स्थिती थियो त्यहाँ, यसले के सावित गरेको छ। को जिम्मेवार?, को गैरजिम्मेवार? ।’

राज्यमन्त्री यादवले गौर नरसंकार नै दोहोर्याउने अभिव्यक्तिको सवालमा उनले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो ।’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस