सप्तरीमा बढ्दो लागुऔषधको कारोबार

राजविराज, ७ माघ । राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई युवक पक्राउ परेको महिना दिन नवित्दै सप्तरीमा पुनः ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकाहरुलाई आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको छ । हिजो (विहिवार) राति जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोबाट उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

तिरहुत गाउँपालिका–५ का २७ वर्षीय राज कुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ का २५ वर्षीय बैजु साहलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट ठुलो परिमाणमा लागुऔषध बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार को २३ प २७७३ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट डायलक्स डिसी १९० बोतल तथा डायजेपाम, फेर्नागन र लिजेसिक इन्जेक्सन ९५–९५ थान बरामद भएको हो ।

उनीहरुमाथि म्याद थप गराइ अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए । यसअघि गत पुस ११ गते प्रहरीले राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई युवकलाई सार्वजनिक गरेको थियो ।

यसरी पठाइन्छ राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध !

Author:



क्याटोगरी छान्‍नुहोस