पहिले स्थानीय तहकै निर्वाचन

काठमाडौं, ८ माघ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मितिभने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकले संंवैधानिक प्रावधानअनुसार नै निर्वाचनका लागि अघि बढ्ने निर्णय गरेको हो । तर, कहिले र कुन मितिमा निर्वाचन गर्ने भन्ने विषयमा भने गठबन्धनमा अझै सहमति जुटेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको स्प्रिटअनुसार नै स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन बैठकमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार गत स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएकाले कुन निर्वाचनदेखि स्थानीय तहको पदावधि सकिने भन्ने विषयलाई थप निचोडमा पु¥याएपछि निर्वाचनको मिति घोषणा हुनेछ ।

‘स्थानीय तह रिक्त हुने अवधि कुन हो भन्ने विषयमा संविधानविद् र निर्वाचन आयोगसँग थप छलफल गरेर निर्वाचनको मिति तय गर्ने सहमति बनेको छ, संविधानको स्प्रिटअनुसार निर्वाचन हुन्छ, ’सरकारका प्रवक्ता कार्कीले भने ।

गठबन्धन आबद्ध दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा पहिले स्थानीय तहको निर्वाचन गर्ने सहमित बनेको तर स्थानीय तहको कार्यकाल संविधान र निर्वाचन ऐन बाझिएकाले संविधान र कानुनविद्हरूसँग सो परामर्श गरेर निर्वाचनको मिति अघि बढ्ने सहमित भएको जानकारी दिइन् ।

स्थानीय तहको निर्वाचनको विषयमा संविधान र निर्वाचन कानुनमा फरकफरक व्याख्या भएको भन्दै दलहरूले आआफ्नै ढंगले विश्लेषण गर्दै आइरहेका छन् ।

यसअघि ३१ वैशाख २०७४ मा पहिलो, ३१ जेठ २०७४ मा दोस्रो र २ असोजमा तेस्रो चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन आयोगले भने पहिलो चरणको मितिलाई नै गणना गरी म्याद सकिने मिति ५ जेठ २०७९ लाई मान्नुपर्ने बताउँदै आएको छ । आयोगले सोहीअनुसार निर्वाचन गर्न १४ र २२ वैशाखको मिति सरकारसमक्ष सिफारिस पनि गरिसकेको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस