छिन्नमस्ता गाउँपालिकामा विवादै विवाद !

राजविराज । जनप्रतिनिधि र कर्मचारीबीचको अन्तर कलहले पटक–पटक विवाद उत्पन्न हुँदै आएको सप्तरीको छिन्नमस्ता गाउँपालिकामा फेरी विवाद चुलिएको छ । चार बुँदे माग अघि सार्दै कर्मचारीहरुले आन्दोलन नै गर्ने निर्णय गरेपछि पुनः विवाद चुलिएको हो ।

कार्यालय सञ्चालनको लागि चाहिने अत्यावश्यक स्रोत साधनहरु तत्काल उपलब्ध हुनुपर्ने, गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुको विगतदेखि हालसम्मको तलब भत्ता उपलब्ध हुनुपर्ने, जनप्रतिनिधिहरुबीच रहेको अन्तरद्वेषलाई शान्तिपूर्ण रुपमा सहमति गरी भयरहित अवस्थामा कामकाज गर्ने वातावरण सृजना हुनुपर्ने र अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण हुनु कर्मचारीहरुको माग छ ।

अविलम्ब माग सुनुवाई नभए आगामी मंगलबार (माघ ११ गते)देखि अत्यावश्यक बाहेक गाउँपालिका अन्तर्गत सबै कामकाज ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् । ‘जनप्रतिनिधिहरु बीचको अन्तर कलहले आर्थिक वर्ष ०७७–०७८ देखि हालसम्म गाउँसभा हुन सकेको छैन्’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनेश्वर प्रसाद चौधरीले भने–‘जसका कारणले सबै योजना र कार्यक्रमकासाथै दैनिक प्रशासनिक कामकाज प्रभावित हुन पुगेको छ ।’

गाउँसभा नहुँदा गाउँपालिकामा आर्थिक दायित्वसम्म भुक्तानी हुन नसकेको उनले बताए । ‘विगत १९ महिनादेखि यहाँका शिक्षक र राष्ट्रसेवक कर्मचाहरुले तलब भत्ता खान पाएका छैनौं, कार्यालय सञ्चालनको लागि चाहिने आवश्यक स्टेशनरी, फर्निचर, फिक्चर्स, इलेक्ट्रोनिक्स जस्ता उपकरणहरु अभाव भएको छ भने र इन्टरनेटसम्मको बिल फछ्र्यौट गर्न सकिएको छैन् ।’, उनले भने ।

यसअघि गत मंसिर १ गतेदेखि ती समस्याहरुलाई लिएर ‘पेन डाउन’सम्मको सघर्ष कार्यक्रम गरिसकेको उनले बताए । ‘सो बेला गाउँपालिका अध्यक्षकासाथै अन्य जनप्रतिनिधिहरुले लिखित प्रतिवद्धता नै जनाए। यद्यपी, समाधानतर्फ कसैले वास्ता गर्नुभएन’ उनले भने–‘पटक पटकको आग्रहले पनि नसुनेका कारण बाध्य भएर यसअघि हामीले गरेका निर्णयअनुसार कामकाज स्थगित गर्नेछौं ।’

उता, गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले आफुलाई बदनाम गर्न कर्मचारी र केही जनप्रतिनिधिहरु गुटबन्दी गरेका कारण समस्या समाधान गर्न ढिलाइ भइरहेको बताए । ‘केही जनप्रतिनिधि र कर्मचारीहरुले गुटबन्दी गरेर आफुलाई बदनाम गर्ने कार्यमा लागेका छन्, उहाँहरुको नियत नै गलत रैछ’ उनले भने–‘नियत सही भएको भए ती समस्याहरु केही होइन्, सवै जना मिलेर ३६ घण्टाभित्र समाधान भैजान्छ ।’

यद्यपी, आफु समाधानको बाटो लागेको अध्यक्ष मण्डलको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस