सहिद दिवसमा प्रधानमन्त्रीको संदेश: ‘सहिदको बलिदानीबाट राजनीतिक व्यवस्था परिवर्तन भएको हो’

जनकपुरधाम, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् ।

सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रम देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदको त्याग रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको प्रधानमन्त्रीद्वारा जारी संदेशमा उल्लेख छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस