१७ विकास बैंकको स्प्रेडदर औसत ४.२२ प्रतिशत

काठमाडौं, १४ माघ । चालू आवको दोस्रो त्रैमासमा १७ ओटा विकास बैंकको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) औसत ४ दशमलव २२ प्रतिशत रहेको देखिएको छ ।

विकास बैंकहरूले जारी गरेको चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत आव २०७७/७८ को सोही अवधिको तुलानामा स्प्रेडदर १ दशमलव १५ विन्दुले घटेको छ । गत आवको यस अवधिमा यस्तो स्प्रेडदर औसत ५ दशमलव ३७ प्रतिशत थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६ ओटा विकास बैंक सूचिकृत छन् । सालपा विकास बैंक नेप्सेमा सूचीकृत छैन । नारायणी डेभलपमेन्ट र सालपा विकास बैंकको स्प्रेडदर गत आवको दोस्रो त्रैमासको तुलनामा बढेको छ । यो अवधिमा नारायणी डेभलपमेन्ट बैंकको स्प्रेडदर २ दशमलव ३२ विन्दुले वृद्धि भएर ३ दशमलव ८८ प्रतिशत कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा यो बैंकको स्प्रेडदर १ दशमलव ५६ प्रतिशत रहेको थियो ।

नेप्सेमा सूचीकृत नभएको सालपा विकास बैंकको गत आव दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा स्प्रेडदर शून्य दशमलव १६ विन्दुले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा यो बैंकको स्प्रेडदर ४ दशमलव ७३ प्रतिशत थियो भने चालू आवको दोस्रो त्रैमासमा ४ दशमलव ८९ प्रतिशत कायम भएको छ ।

सिन्धु विकास बैंकको स्प्रेडदर सबैभन्दा बढी छ । यस्तै यो अवधिमा १७ ओटै विकास बैंकहरूको स्प्रेडदर ३ प्रतिशतभन्दा बढी छ भने यीमध्ये १० ओटाको स्प्रेडदर ४ प्रतिशतभन्दा बढी छ । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस