कांग्रेस–एमालेसँग समानान्तर संवादमा लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ।

नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन्। कांग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढ्ने लोसपाको तयारी छ।

दुई ठूला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताहरूले बताएका छन्। पछिल्लो समय लोसपाका शीर्ष नेताहरू कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवाद र छलफलमा छन्।

पछिल्लो डेढ सातामा लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग तीनपटक कुराकानी गरेका छन्। यसैगरी लोसपाका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्पर्क र भेटघाटमा छन् ।

लोसपा कार्यकारिणी समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले चुनावमा एमाले र कांग्रेसमध्ये एकसँग गठबन्धन गर्ने पार्टीको नीति भएको प्रस्ट पारे। नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस