स्थानीय तहको निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । स्थानीय तहमा उम्मेदवारी दिनेको संख्या धेरै हुने भएकाले भीडभाड नहोस् भनेर उम्मेदवारी दर्ताका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आचार संहिताअनुसार उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरूले पदबाट राजीनामा दिनुपर्नेछ । राजनीतिक दल र सरोकारवाला निकायहरूसँगको परामर्शबाटै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

स्थानीय तहमा बहालवाला पदाधिकारीहरूले पदीय हैसियत दुरूपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्ने भएकोले यो प्रावधान राखिएको उनले बताए । निर्वाचन कार्यक्रमअनुसार वैशाख १२ गते उम्मेदवारहरूको नामावली सूची प्रकाशित हुनेछ भने १३ गते दाबी विरोधको समय निर्धारण गरिएको छ ।

त्यसै गरी १४ र १५ गते दाबी विरोधउपर निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

निर्वाचन चिह्न प्रदान गरेपछि उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको काम शुरू गर्ने समय निर्धारण गरिएको जानकारी दिँदै प्रवक्ता पौडेलले उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि ११ दिनको समय पाउने बताए। वैशाख २७ गतेमध्ये रातिबाट मौन अवधि लागु हुनेछ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस