कांग्रेस–कम्युनिष्टको गलत नीतिले देशमा आर्थिक विकासको आधार तय हुन सकेनः उपेन्द्र

राजविराज, ९ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीको गलत नीतिका कारण मुलुकमा आर्थिक विकासको मूल आधार तयार हुन नसकेको बताएका छन् ।

बुधवार राजविराजमा जसपा जिल्ला समन्वय समिति सप्तरीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । दुवै पार्टीको गलत नीतिले नै वर्षौसम्म सत्तामा रहेर पनि गरिबी र बेरोजगारी बढ्दो रहेको तथा स्वास्थ्य र शिक्षाको क्षेत्र अस्तव्यस्त हुन पुगेको उनको भनाई छ । ‘कांग्रेस र कम्युनिष्ट पार्टीको गलत नीतिका कारण मुलुकमा गरिबी र बेरोजगारी बढ्दै गयो र स्वास्थ्य र शिक्षाको क्षेत्र अस्तव्यस्त हुँदै गयो’ उनले भने–‘अहिले नेपालका ७० लाख युवायुवती वैदेशिक रोजगारमा पुगेर परिवारको जीवीकोपार्जन चलाउन बाध्य छन्, यो धेरै ठुलो समस्या हो ।’

उनले अहिले मुलुक नै वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सबाट चलिरहेको बताए । अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टीको कमजोरीले नै न मुलुकले राजनीतिक स्थिरता पायो, न त पछाडि पारिएका समूदायले नै अधिकार सम्पन्न भएको टिप्पणी गरे । ‘लामो समयसम्म सरकारमा रहेर पनि यी दुवै पार्टीले मधेशी, दलित, जनजाति, मुस्लिम, महिला वा किसान सहित शोषित पीडित जनताको समस्या प्रति कहिलै पनि गम्भीर भएको छैन्’ उनले भने–‘उता, न त राजनीतिक स्थिरता दिन सक्यो, न त आर्थिक विकासको मूल आधार नै ।’

उनले अब ती सारा राष्ट्रिय समस्यालाई समाधान गरेर अघि बढ्नुपर्ने नै मुलुकको वर्तमान आवश्यकता रहेको बताए । ‘दुनिया आर्थिक तरकीमा धेरै अगाडी बढिसक्यो तर नेपाल धेरै पछाडी परिसक्यो, अबको आवश्यकता नै आर्थिक विकासका साथसाथै विभेद र असमान्तालाई अन्त्य गर्दै लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाउँदै अगाडी बढ्नुपर्छ’ उनले भने–‘यो कार्य जसपा बाहेक अन्य कुनै पनि पार्टीले अगाडी ल्याउन सक्दैन् ।’

मुलुकको अर्थलाई सुद्धिढ गर्दै आर्थिक विकास र समृद्धिको साथसाथै गरिबी र बेरोजगारीलाई अन्त्य गर्ने तथा शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण सवालमा राष्ट्रिय नीतिद्वारा स्थापित गर्ने कार्य जसपाले नै गर्ने अध्यक्ष यादवले दावी गरे ।

‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ’

सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमार यादवले स्थानीय तहको निर्वाचन समयमै हुने कुरामा शंका नगर्न सबैमा आग्रह गरेकी छन् । ‘सरकारले तय गरेको स्थानीय तहको निर्वाचन समयमै हुने कुरामा शंका गर्ने कुनै ठाउँ छैन्’ उनेले भनिन्–‘तपाईहरु पनि कुनै शंका उपशंकामा नलाग्नुस्, निर्वाचन हुन्छ–हुन्छ र तोकिएकै समयमा हुन्छ ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, मधेश प्रदेश सरकारका अर्थ मन्त्री  शैलेन्द्रप्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायतले पनि बोलेका थिए ।

प्रभावशाली नेताहरु जसपामा प्रवेश

सोही कार्यक्रममा संविधानसभा सदस्य समेत रहेकी एमालेकी प्रभावशाली महिला नेता रञ्जु कुमारी झा जसपामा प्रवेश गरेकी हुन् । सोही कार्यक्रममा नेपाली कांग्रेस निकट रहँदैआएका सप्तरी उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष अरुणकुमार प्रधान, मारवाडी समुुदायका अगुुवा समाजसेवी शंकर शारदा, प्रतिष्ठित व्यवसायी अनिल पेडिवाल सहित दर्जनौं अगुवाहरु जसपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादव, पार्टीका केन्द्रीय नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, नेता मनिस कुमार सुुमन लगायतले स्वागत गरेका छन् ।

नवप्रवेशी झा कम्युनिष्ट पार्टीमा विद्यार्थी जीवनकालदेखि नै आवद्ध हुुँदै अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारीको जिम्मेवारी समेत वहन गरिसकेकी छिन् । महिला मुक्ति आन्दोलनमा सक्रिय रहँदैआएकी उनी २०७० सालको संविधानसभा सदस्यमा समानुपातिकतर्फ संविधानसभा सदस्यभएकी थिईन् ।

चुनावी माहौल बढिरहेको अवस्थामा एकसाथ चर्चित हस्तीहरु जसपामा प्रवेश गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस