मधेस प्रदेशमा चुनावी सरगर्मी: गर्मीमा कतै सिरक, कतै प्रेसर कुकर बाँडिँदै

जनकपुरधाम । मधेस प्रदेशमा यतिखेर चर्को गर्मी छ। वैशाख सुरू नहुँदै ३६ डिग्री सेल्सियस तापक्रम छल्न यहाँका बासिन्दा अनेकौं उपायको खोजीमा छन्। तर स्थानीय तहको चुनाव नजिकिएसँगै जनप्रतिनिधिले मतदाता फकाउन सिरक बाँड्दै छन्।

सिराहाको नगरहा गाउँपालिकाले विभिन्न चरणमा गरी १५ सय फाइबर सिरक वितरण गरिरहेको छ। चार वटा वडामा झण्डै १२ सय सिरक वितरण भइसकेको र वडा नम्बर एकमा मंगलबार वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रामशरण यादवले जानकारी दिए।

‘जाडो छल्न जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरूलाई सिरक वितरण गरिँदैछ,’ उनले भने, ‘सिरक बाँड्न गाउँ परिषदमै बजेट राखेको थिएँ। तर प्रक्रिया पुर्याउँदा-पुर्याउँदै ढिलो भयो। यसपालि ओढ्न सकेन अर्को जाडोमा काम लागिहाल्छ नि।’

बजेट गाउँ परिषदमै विनियोजन गरिएकाले चुनावकै लागि सिरक बाँडेको भन्न नमिल्ने उनको भनाइ छ।

अध्यक्ष यादवका अनुसार टेण्डरमार्फत् करिब ४० लाख रुपैयाँ बराबरको सिरक खरिद गरिएको हो।

चुनाव नजिकिएकै कारण गएको मंगलबार धनुषाको बटेश्वर गाउँपालिकाले पनि जेष्ठ नागरिकलाई सिरक वितरण गरेको थियो।

गाउँपालिकाले पाँच वटै वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई सिरक र लठी वितरण गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए।

‘वृद्ध–वृद्धाहरूको आशीर्वाद र माया पाउने जनप्रतिनिधि र कर्मचारीको चाहना थियो। योभन्दा पहिले पनि हामीले उहाँहरूलाई दोसल्ला र झुल वितरण गरेका थियौं,’ उनले भने, ‘बाँड्नुपर्ने फागुनमै थियो तर समयले साथ नदिँदा ढिलो भएछ।’

स्थानीय तहको चुनाव नजिकिएकाले मतदातालाई प्रभावित गर्न सिरक र लौरो वितरण गरिएको भन्दै स्थानीयले विरोध समेत जनाएका थिए। तर उनले भने यो आरोप निराधार रहेको बताए।

‘यहाँका नागरिक सिरक र लौरोमा बिक्दैन,’ उनले थपे।

बिदाईको समय नजिकिएसँगै आगामी स्थानीय तहको निर्वाचनमा मतदातालाई आफूतर्फ तान्न वितरणमुखी काम गर्ने मधेसमा होड नै चलेको छ। प्रदेशका आठ वटै जिल्लामा हरेक साता केही न केही वितरण गर्ने कार्यक्रम आयोजना गरिँदैछ। पालिकाले मात्र नभई वडा कार्यालयबाट समेत जनप्रतिनिधिले स्थानीयलाई सरसमान बाँड्न थालेका छन्।

सर्लाहीको कौडेना गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष किशोरी रायले वडाका सबै परिवारलाई खाना पकाउने प्रेसर कुकर वितरण गरे। प्रतिपरिवार एक–एक थान पाँच लिटर क्षमताको प्रेसर कुकर शुक्रबार वितरण गरिएको वडाध्यक्ष रायले बताए।

‘अहिलेसम्म २०० वटा प्रेसर कुकर बाँडिसक्यौं। अझै २०० वटा बाँड्दैछु’, उनले भने।

१० लाख रुपैयाँ बजेटमा प्रेसर कुकर खरिद गरेर वितरण सुरू गरिएको वडाध्यक्ष रायले जानकारी दिए।

त्यस्तै, प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ९ का छात्राले मात्र साइकल पाएकाले आफूले वडा कार्यालयबाट १० लाख रुपैयाँ बजेट साइकल वितरणका लागि समेत छुटयाएको उनले जानकारी दिए।

उनका अनुसार वडाभरका कक्षा ६, ७, ८ र १० कक्षामा पढिरहेका १५० जना छात्रालाई साइकल केही दिन भित्रै वितरण गर्ने तयारी छ। सेतोपाटी

Author:



क्याटोगरी छान्‍नुहोस