चिकित्सक मृत्यु प्रकरण: नियोजित रुपमा हत्या गरिएको भन्दै प्रदर्शन

राजविराज, २२ चैत । विराटनगरमा मृत भेटिएका चिकित्सकको नियोजित रुपमा हत्या गरिएको भन्दै हत्यारालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गर्दै आफन्त र स्थानीयहरुले आज (मंगलबार) सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

दिउँसो बजारभरि चर्को नाराबाजी गर्दै पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत गृह मन्त्री र प्रधानमन्त्रीका लागि ज्ञापन पत्र समेत बुझाएका हुन् । सो ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालय मोरङ र सप्तरी, प्रदेश नम्वर १ प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयलाई पनि बोदार्थ गरिएको छ ।

ज्ञापन पत्रमा मृतकका आफन्त र स्थानीयले नियोजित रुपमा हत्या भएको दावी गर्दै घटनाको उच्चस्तरीय छानवीन गरी दोषीलाई हदैसम्मको कारवाही हुनुपर्नेमा माग गरिएको छ । ‘नोबेल अस्पतालमा कार्यरत रही छेउमै डेरा लिएर बसेको अवस्थामा मिति २०७८।१२।१८ गतेको रातिको समयमा निजको निमर्मतापूर्वक हत्या गरिएकोमा हामी सप्तरीवासी उक्त जघन्य अपराधको घोर भत्र्सना गर्दछौं । सो हत्याको उच्चस्तरीय छानवीन गरी तत्काल हत्यारा पत्ता लगाई हत्यारालाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग माग गर्दछौं ।’, ज्ञापन पत्रमा भनिएको छ ।

उनीहरुले तीन दिनभित्र हत्यारालाई पक्राउ गरी कारवाही अघि नबढाइए सशक्त रुपमा आन्दोलन चर्काउने ज्ञापन पत्रमार्फत चेतावनी समेत दिएका छन् । गत चार वर्षदेखि विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत रहेका सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया निवासी ३० वर्षीय डा.विजय यादव गत शुनिवार विहान मृत भेटिएका थिए ।

अस्पताल छेउमै डेरा लिएर बस्दै आएका डा.यादव मृत भेटिएसँगै आफन्त र स्थानीयहरुले न्याय गुहार्दै शनिवारै विराटनगर समेत प्रदर्शन गरेका थिए । उता, मोरङ प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही अस्पतालका एक चिकित्सक आधा दर्जनबढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

तस्बिरः कमल मण्डल/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस