पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव पोखरेललाई आइतबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको जानकारी दिए ।

सत्तारूढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको थियो । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ । त्यसैले समयमै सचेत बनौं । हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने ? तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं ।’

निर्वाचन आचारसंहिता २०७८ दफा २२ मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी र पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सम्बद्ध कर्मचारी र पत्रकारले कसैको पक्षमा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । त्यसै गरी सञ्चार प्रतिष्ठानमा सम्बद्ध कर्मचारी र पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्दै आयोगले पत्रकार संगठनसँग स्पष्टीकरण माग्दै सोधेको छ– ‘स्वतन्त्र पत्रकार संगठनहरूको तर्फबाट हस्ताक्षरकर्ताले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ कि हुँदैन ? स्वतन्त्र पत्रकारहरूको पेसागत संगठनका अध्यक्ष-सचिवले कुनै अमुक राजनीतिक दलको-दलको पक्षमा वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ कि मिल्दैन? कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमूक गठबन्धनका उम्मेदवारलाई मतदान गर्नु भनि विज्ञप्ति जारी गर्ने कार्य पेसागत मर्यादाभित्र पर्छ कि पर्दैन? पत्रकार पेसागत संगठन अमूक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो कि होइन ? कुनै पनि सञ्चार प्रतिष्ठान वा पत्रकारले पेसागत संघ-संगठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलील पेस गर्न मिल्छ कि मिल्दैन ?’ नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस