सप्तरीमा जसपा, लोसपा, कांग्रेस, एमाले र जनमतले खाता खोले

राजविराज । स्थानीय तह निर्वाचनको आइतवार सम्पन्न मतदानको मतगणना जारी रहेको छ । सप्तरीमा विवादित दुई स्थानीय तह बाहेक १६ वटामा मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार हालसम्म यहाँ पाँच पार्टीले खाता खोल्दै वडाहरूमा जित हासिल गरेका छन् । वडा अध्यक्ष पदमा निर्वाचित भएकोमा जनता समाजवादी पार्टी (जसपा) ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली कांग्रेस २–२ वडा अध्यक्ष, एमाले र जनमत पार्टीले १–१ वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल ९ मत बढी ल्याइ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मदेब साहले ३५९ मत ल्याएका छन् ।
त्यस्तै, कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा पनि प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी भएका छन् । राजविराज–१६ मा पनि रामएकबाल यादवले ३९४ मतका साथ निर्वाचित भएका छन् ।

त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई खाता खोलेका छन् । अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्ष पदका उम्मेदवार सबजुल खलिफाले ६४१ मत ल्याइ प्यानलसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० मत ल्याएका छन् ।

खडक नगरपालिका–१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन् । त्यस्तै, महादेवा गाउँपालिका वडा नम्वर १ मा पनि लोसपाका उम्मेदवार जयकिशोर दासले ९३१ मत ल्याएर कार्यकालका लागि प्यानलसहित निर्वाचित भएका छन् ।

सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ । शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत ल्याई वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएका छन् ।

सप्तरीमा विवादीत बनेर मतदान स्थगित हुन पुगेको डाक्नेश्वरी नगरपालिका–२ हरीराहामा आइतबार र रूपनी गाउँपालिका–५ बसबिट्टीमा सोमबार पुनः मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस