मतगणना कार्यलाई पत्रकारमैत्री बनाउन आमसञ्चार प्राधिकरणको आग्रह

जनकपुरधाम । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले स्थानीय तह निर्वाचनको मतगणना अपडेटलाई सहज एवम् पत्रकारमैत्री बनाउन सम्बन्धित सवै पक्षमा आग्रह गरेको छ ।

आइतवार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी मतगणना कार्यमा सहज सूचना प्राप्त गर्नमा अवरोध भइरहेको कार्य प्रति दुःखद् व्यक्त गर्दै यस्तो आग्रह गरेका हुन् । ‘स्थानीय तहको निर्वाचन २०७९ को मतगणना कार्य देशैभरि जारी रहेको छ । मतगणना विवरण सम्बन्धी सूचना आम जनतासम्म पुर्याउन विभिन्न आमसञ्चारमाध्यममा कार्यरत पत्रकारहरु तदारुकताका साथ लागि पर्नुभएको छ । तर मधेश प्रदेशका विभिन्न स्थानहरुमा सूचना सङ्कलन एवम् सम्प्रेषणमा खटिएका पत्रकारहरुलाई मतगणना स्थलहरुबाट सहज रुपमा सूचना प्राप्त गर्नमा अवरोध पुर्याउने, सम्वन्धित अधिकारीहरुले मोबाइल नउठाउने, स्वीच अफ गर्ने, फोन काटिदिने जस्ता कार्य हुनु अत्यन्तै निन्दनीय हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा समग्र पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति समेतले चासो देखाउँदा पनि मतगणना सम्बन्धी सूचनालाई सहज बनाउन सम्बन्धित निकायले गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद् हो । मतगणना स्थलमा पत्रकारहरुलाई सहज पहुँच तथा पत्रकारमैत्री वातावरण बनाउन सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

विज्ञप्तिमा केही पालिकाहरुले वेबसाइटबाटै निरन्तर मतगणना अपडेट गराइरहेको र केहीले इमेलमार्फत वितरण पठाइरहेको कार्यलर्य सकारत्मक रुपमा लिएको उल्लेख गरिएको छ ।

‘मतगणना कार्य लम्बिनसक्ने भएको यथार्थलाई ध्यानमा राख्दै केही जिल्लामा सम्बन्धित पालिकाको वेबसाइटबाटै निरन्तर मतगणना अपडेट भईरहेको तथा सम्वन्धित पत्रकार एवम् सञ्चारगृहको ईमेलमा विवरण पठाउने कार्यलाई सकारात्मक रुपमा लिएका छौं । सूचनाको पहुँचलाई सहज बनाउन विभिन्न स्थानहरुमा भईरहेका राम्रा अभ्यासहरुलाई अपनाउन आग्रह छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘मतगणना परिणामलाई थप विश्वासिलो एवम् पारदर्शी बनाउन सम्बन्धित निर्वाचन आयोग मधेश प्रदेश, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय समेतलाई मतगणना अपडेटलाई सहज एवम् पत्रकारमैत्री बनाई दिनुहुन आग्रह छ । साथै भोक–प्यास समेत विर्सेर सूचना सङ्कलन एवम् सम्प्रेषण कार्यमा खटिरहनुभएका मधेश प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस