दुर्घटनाग्रस्त विमानः धनुषाबाट मुक्तिनाथ दर्शनको लागि हिँडेका सात जना

जनकपुरधाम, १६ जेठ । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका निवासी एकै परिवारका ७ जना सवार रहेको पाइएको छ ।

आइतवार विहानदेखि सम्पर्कविहीन रहेको सो विहान सोमवार विहान मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

मिथिला नगरपालिका–११ तुल्सीपाटेका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ विमानमा सवार थिए ।

उनीहरु मुक्तिनाथ दर्शनको लागि विमान चढेर जोमसोम जाँदै थिए । तारा एअरको ९ एन एइटी विमानमा अन्य २ जना विदेशी, ४ जना भारतीय र उनीहरु ७ जनासहित १३ जना नेपाली यात्रु सवार थिए ।

साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।

विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस