धनुषामा प्रहरीको ‘सेटिङ’मा बालबालिकाको प्रयोग गरी मदिरा तस्करी

जनकपुरधाम, १६ जेठ । धनुषामा बालबालिकाको प्रयोग गरेर दैनिक रुपमा भारततर्फ मदिरा तस्करी हुने गरेको पाइएको छ ।

विहार राज्यमा मदिरा विक्री वितरण र प्रयोगमा रोक लगाइएपछि त्यहाँका कतिपय मदिरा प्रेमीहरु नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको कनेक्शनमा मदिरा घरसम्म नै मगाउने गरेको पाइएको हो ।

ती व्यापारीहरुले बालबालिकालाई प्रयोग गरेर भारतीय बजारसम्म मदिरा पुर्याउने गरेको खुल्न आएको हो । ‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पुर्याइदिन्छ भन्छन्’ इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले भने ‘नाम र घर बताउन भनेको छैन् र बताउदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पुर्याएपछि मात्रै पैसा दिनुहुन्छ ।’

उनका अनुसार दैनिक एक पटक र कहिले काँही दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पुर्याउँदै आएका छन् । ‘मेरो दोस्त र बहिनी पनि मसँग समान लिएर आउँछन्’ उनले भने–‘मलाई ५ सय रुपैयाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपैयाँ दिनुहुन्छ ।’

एक महिनादेखि सो काम गर्दै आएको बताउँदै उनले भने ‘३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले राम्ररी जाउ भन्नुभा’छ ।’

प्रहरीसँग ‘सेटिङ’

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीकै घुमुवाको रुपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले मदिरा तस्करीमा सघाउँदै आएका छन् ।

‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरुले नै ‘पास’ हुने समय समेत निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’ स्रोतले भने ‘यो कुरा यहाँ धेरै जसो अधिकारीहरुलाई पनि थाहा छ नै, यद्यपी बालबालिकाको भविष्य प्रति कसैलाई पनि चिन्ता छैन् ।’

यता, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश सुवेदीले त्यस्तो पाइएको खण्डमा तत्कालै सो रोकिने बताए । ‘त्यस्तो त छैन्, तर पनि त्यस्तो पाइए तत्कालै सो रोकिन्छ र संलग्न पाइएकाले कारवाही पनि बढाइन्छ’, उनले भने ।

म बुझौलाः सिडिओ पौडेल

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले ती विषयमा केही जानकारी नरहेको बताए । ‘यद्यपी, के रैछ म बुझौला’, मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस