स्थानीय तह निर्वाचनमा ‘धाँधली’ भयो–लोसपा

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहको निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको छ । स्थानीय तहको मत परिणाम सार्वजनिक भएको केही समयपश्चात् मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुरले निर्वाचनमा धाँधली भएको आरोप लगाएका हुन् ।

अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानमा सत्ता गठबन्धनका घटक दलहरूले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन् ।

‘भविष्यको निर्वाचनको समयमा हुन सक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोगविरुद्ध आममतदाता, लोसपा पार्टी पंक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायको थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्छ’ लोसपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपा ९हाल लोसपा०ले २५ पालिकामा विजयी भएको थियो । तर, २०७९ को स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिकामा मात्रै विजयी भएको छ । निर्वाचनबाट लोसपाको अवस्था कमजोर देखिएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गरेको लोसपा र अर्को मधेसवादी दल जनता समाजवादी पार्टी नेपाल ९जसपा० आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका छन् । मधेसमै सोचेअनुसार परिणाम ल्याउन नसकेपछि आउने प्रतिनिधि सभा, प्रदेश सभाको निर्वाचनमा समेत यसको प्रभाव पर्ने बताइएको छ ।

मधेसवादी दल विभाजन हुनु र छुट्टाछुट्टै दलबाट निर्वाचनमा होमिनुका कारण मतपरिणाम सोचेजस्तो आउन नसकेको हो । मधेसवादी दल विभाजनको फाइदा नेपाली कांग्रेसलाई भएको देखिन्छ ।

जसपाबाट विभाजन भएर गठन लोसपा गठन भएको थियो । केही समय नबित्दै लोसपाबाट विभाजन भएर तराई मधेस लोकतान्त्रिक पार्टी गठन भयो । पार्टी विभाजनको कारणसमेत जसपा र लोसपा कमजोर अवस्थामा पुगेका हुन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस