सप्तरीमा सामूहिक बलात्कारः एक आरोपित कारागार चलान, तीन बालकलाई सुधार गृह पठाइयो

राजविराज, २६ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका एक आरोपितलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ भने तीन जना नाबालक आरोपितलाई विहिबार बालसुधार गृह पठाइएको छ ।

जेठ २ गते बालिकालाई पाँच जनाले मिलेर सामूहिक बलात्कार गरेका थिए । घटनापछि पीडित बालिकाले सो बारे परिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले जेठ ३ गते पीडितको स्वास्थ्य परीक्षण गराएर उजुरी दर्ता गरेसँगै अनुसन्धान सुरु गरेका थिए । सोही क्रममा आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम सहित चार जनालाई पक्राउ गरिएको थियो ।

विहिवार सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले सरैतलाललाई पुर्पक्षका लागि राजविराज कारागारमा राख्न आदेश भएको अदालतले जानकारी दिएको छ ।

त्यस्तै, घटनाका तीन नाबालकलाई बालसुधार गृह वीरगञ्ज पठाइएको बताइएको छ । घटनाका अन्य एक आरोपित फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस