सर्लाहीका दुई जनप्रतिनिधिलाई स्वतः निलम्बन गराउन अख्तियारको पत्र

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बन हुने व्यवस्था कायान्वयनका लागि सम्बन्धित निकायमा पत्र पठाएएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार पठाइएको पत्रमा गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित ती पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष राम दुलार साह र वडा सदस्य उमेश रायलाई निलम्बन कार्यान्वयन गराउन आयोगले लेखी पठाएको छ । अघिल्लो पटक निर्वाचित भएका वडाध्यक्ष साह र वडा सदस्य रायमाथि घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

दुवै जनालाई १ लाख ५० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजायको माग दाबी गरी आयोगले गत पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको र सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।

मुद्दाको किनारा नभएसम्म वडाध्यक्ष पदमा निर्वाचित साह र वडा सदस्य राय स्वतः निलम्बन रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस