महिला पत्रकारको समस्या समाधानका निम्ति आफुहरु चिन्तितः मन्त्री साह

प्रियासिंह थारु
बर्दिवास, ३१ जेठ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित रहेको बताएका छन् ।

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशकाको आयोजना र सञ्चारिका समुह नेपालको समन्वयमा मंगलबार बर्दिवासमा आयोजित ‘मधेस प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान बिषयक’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित छौं’ उनले भने–‘तर खुशी हुने कुरा पनि छन, ५ वर्षअघि यसरी सबै जिल्लाबाट महिला पत्रकारलाई प्रतिनिधित्व गराएर छलफल गर्ने अवस्था थिएन । चुनौती थुप्रा छन र ती चुनौतीका बीच पनि महिला पत्रकारहरु आउनु भनेको समाजका लागि सुखद् पक्ष हो ।’

उनले एउटा पांग्रा कमजोर बनाएर समाज, प्रदेश वा देश अघि बढ्न नसक्ने बताए । ‘हामी समाज निर्माणका दिसामा अगाडी बढेका छौं र त्यससँगै प्रदेश र देश प्रगतिको कुरा पनि छ’ उनले भने–‘महिला पत्रकारका लागि हामी गम्भीरतापूर्वक लिएका छौं र आवश्यक बजेटको व्यवस्था भएसँगै उहाँहरुको समस्यालाई समाधानतर्फ अघि बढ्छौं ।’

उनले पत्रकारका लागि मन्त्रालय, आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलले स्वास्थ्य बीमा, लोककल्याणकारी विज्ञापनहरु, प्रेस कार्ड, अनलाइन मिडिया दर्ता र नवीकरण लगायतका कार्यमा लागेको बताए ।

यही आवबाट लोककल्याणकारी विज्ञापनको सुरुवात गछौंः अध्यक्ष यादव

सोही कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जसरी पनि यही आर्थिक वर्षबाट लोककल्याणकारी विज्ञापन सुरुवात हुने बताएका छन् । ‘पत्रकारहरुका समस्या आफुलाई अवगत नै छ, यस कार्यक्रममा पनि महिला पत्रकारका धेरै जसो समस्याहरु आइसकेको छ’ उनले भने–‘ती समस्याहरु समाधान गर्न हामी प्रतिबद्ध छौं र यही आर्थिक वर्षदेखि नै लोककल्याणकारी विज्ञापनको सुरुवात हुन्छ ।’

कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्बाखे, महोत्तरीको मटिहानीका मेयर हरिप्रसाद मण्डल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय ललिता साह र रिन्कु मिश्र, प्रदेश अध्यक्ष राजेश कर्ण लगायतले धारणा राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस