कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री श्रेष्ठले आफू निकटस्थसँग पार्टीका लागि पैसाको जोहो कसरी गर्न सकिन्छ भनेर छलफल गरेको समेत स्रोतको दाबी छ ।

मन्त्री श्रेष्ठ जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हुन् । श्रेष्ठ आफंैमा कम विवादास्पद छविका व्यक्ति भए पनि चुनावका लागि पार्टीलाई आवश्यक खर्चको जोहो गर्नुपर्ने बाध्यता उनलाई छ । पार्टी नेतृत्वले पनि ‘मिलाएर गर्नु’ भन्दै उनलाई दबाब दिने गरेको निकटस्थले बताएका छन् । अब नयाँ आर्थिक वर्षसँगै मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हेरफेर गर्नेगरी तयारी गरेकाले सो सरुवामा समेत मन्त्री निकटले राम्रै आर्थिक संकलन गर्नेगरी योजना बनाइरहेको बताइएको छ ।

अन्य मन्त्रालयबाट आउने कतिपय विभागीय प्रमुखको सरुवा सहमतिमा समेत आर्थिक चलखेलको गन्ध आउन थालेको बताइएको छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफ्नो मन्त्रालय मातहतका कर्मचारीको सरुवा सहमति सामान्य प्रशासन मन्त्रालयसँग माग्नुअघि नै सेटिङ मिलाउने गरेको र सोही सेटिङका आधारमा सामान्य प्रशासन मन्त्रालयले पनि सरुवा सहमति दिने गरेको स्रोतको दाबी छ ।

भौतिक मन्त्रालयबाट हुने कतिपय सरुवामा त ब्रिफकेसकै प्रयोग हुने गरेको मन्त्रालयका अधिकारीको दाबी छ । भौतिकमन्त्री र सामान्य प्रशासनमन्त्री दुवै जना एकै पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेकाले पनि आर्थिक रूपले फाइदा हुने विषयमा उनीहरूको मिलिमतो हुने गरेको पाइएको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस