सशस्त्र प्रहरीका इन्सपेक्टर डा. साहलाई सेवाबाट हटाउने तयारी

जनकपुरधाम । गृह मन्त्रालयले सर्लाहीको हरिपूर्वा नगरपालिका–९ निवासी सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. सुजितकुमार साहलाई सात दिने स्पष्टीकरण माग गरेको छ । काठमाडौंस्थित एपिएफ अस्पताल, बलम्बुमा दरबन्दी भएका डा. साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सफाई पेस गर्न सात दिनको मौका दिइएकोमा त्यसको समेत बेवास्ता गरेको भन्दै मन्त्रालयले उनलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

Author:



क्याटोगरी छान्‍नुहोस