सप्तकोशी नदीको धार बदलिएसँगै ४ हजार घर डुबानको उच्च जोखिममा

उदयपुर । निरन्तरको वर्षाका कारण आएको बाढीले सप्तकोशी नदीको धार बदलिएसँगै उदयपुरमा ४ हजार घर डुबानको उच्च जोखिममा परेका छन् । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका ४ वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको हो ।

नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिँदा तीव्र कटान हुन थालेको छ । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माण कार्यमा जोड दिएको हो ।

सप्तकोसीले धार परिवर्तन गर्दा गत वर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खोँच र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप ३ सय मिटर कटान गरी सकेको छ । थप २ सय मिटर कटान गरे सप्तकोशीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनु पर्ने अवस्था रहेको बराह क्षेत्र नगरपालिका–६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

नदीको कटान रोक्न तत्काल प्रयत्न नगरे बेलका नगरपालिकाका–२, ३, ८, ९ र वराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुप, भारहद, राजविराज हुँदै कुनौली नाका भएर नदी बग्ने लिम्बूको भनाइ छ ।

कोशी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासीहरु बताउँछन् ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरूलाई स्थलगत अवलोकन गराएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । अनुगमनपछि कटान रोक्न निगरानी गरी तत्काल अस्थायी मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गरेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस