सहयोगबाट भवन निर्माण तर सांसदसहितकालाई लाखौंको सुनको औंठी उपहार

राजविराज । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदन (धर्मशाला)मा निर्माण गरिएको पहिलो तल्ला भवनको उद्घाटन समारोहमा दुई सांसदसहित छ जनालाई लाखौंको सुनको औंठी उपहार दिएपछि आलोचना सुरु भएको छ ।

सहयोगबाट संरचनाहरु निर्माण गर्ने तर बजेट उपलब्ध गराउने सांसददेखि बजेट दिलाइदिने सांसदसम्मलाई नै महँगो उपहार दिइएको पाइएपछि आलोचना सुरु भएको हो । धर्मशालाको पहिलो तल्ला निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट प्रदेशसभा सांसद नेत्रविक्रम साहले ५० लाख, सामाजिक विकास मन्त्रालयले ४० लाख, पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख र राजविराज नगरपालिकाबाट ५ लाख सहयोग प्राप्त भएको थियो ।

सो कार्यक्रममा सांसद साहसहित अर्का प्रदेश सांसद मनीषकुमार सुमन, आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई सुनको औंठी उपहार दिँदै सम्मान गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष साहका अनुसार प्रदेश सांसद साहलाई बजेट उपलब्ध गराए वापत सम्मान गरिएको छ भने प्रदेशका मन्त्रालयबाट बजेट दिलाउन भूमिका खेलेकाले सांसद सुमनलाई सम्मान गरेको उनको भनाइ छ । त्यस्तै, अन्य ४ जनालाई संस्थाको भवन निर्माणमा सहयोग गरे वापत सम्मान गरिएको उनले बताए ।

प्रत्येकलाई साढे ५ आना तौलको औंठी दिइएको हो । साह सेवा सदन राजविराजका अध्यक्ष दुर्गाप्रसाद साहले ६ जनालाई दिइएको सुनको औंठीको मूल्य २ लाख ५० हजार रहेको उनले बताए ।

सुनको औंठी कहाँबाट दिइएको हो?, छानवीन होस्ः सल्लाहकार समिति

सो उपहार प्रति साह सेवा सदनका सल्लाहकार समितिको ध्यानाकर्षण भएको छ । समितिले विज्ञप्ति गर्दै २ लाख ५० हजार मुल्य बराबरको औंठी मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहको स्वकीय सचिव समेत अध्यक्ष साहले आफ्नो सम्पत्तिवाट दिएका हुन् कि धर्मशालाको तर्फबाट भन्ने प्रष्ट गर्न उल्लेख गरिएको छ ।

‘व्यक्तिगत स्तरवाट दिनुभएको छ भने केही भन्नु छैन् । धन्यवाद छ, अध्यक्ष ज्यूलाई यदि संस्थाको तर्फबाट दिनुभएको भन्ने विधान विपरीत गैरजिम्मेवारपुर्ण र एकल निर्णय हो । यस्तो घृणित कार्यलाई घोरभत्र्सना र विरोध गर्दछु’ साह सेवा सदनका सल्लाहकार समिति सदस्य उपेन्द्र साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको छानवीन होस् र अध्यक्ष दुर्गाप्रसाद साह दोषी ठहर भए साहलाई पदवाट मुक्त गरि तेलि समाजवाट बहिस्कार गर्नुपर्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस