विराटनगर महानगरमा इन्धनमै खर्चियो ८३ लाख ६७ हजार

विराटनगर । विराटनगर महानगरपालिकाले एक वर्षको इन्धनमा ८३ लाख बढी रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनमा सो कुरा खुलाइएको छ ।

प्रतिवेदन अनुसार इन्धनमा ८३ लाख ६७ हजार १०५ रुपैयाँ खर्च गरेको हो । उक्त खर्च मापदण्ड बिना गरिएको महालेखाले जनाएको छ । ‘प्रदेश नं. १ सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ मा सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले यस वर्ष इन्धन खर्चको कुनै मापदण्ड नै तयार नगरी इन्धन (कार्यालय प्रयोजन)मा ५४ लाख ६७ हजार १०५ र इन्धन (पदाधिकारी)मा २८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ खर्च गरेको छ ।’

यस्तै महानगरपालिकाले सवारी साधन मर्मतमा ५० लाख ९४ हजार ५०६ रुपैयाँ र मेसिनरी औजार मर्मत सम्भारमा १२ लाख ९८ हजार २७९ गरी ६३ लाख ९२ लाख ७८५ रुपैयाँ खर्च गरेको छ ।

यो खर्च सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्था पालना नगरी मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता पनि प्रयोग नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस