एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी

काठमाडौं । प्रदेश तथा स्थानीय तहले ठुलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ।

बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ। जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ।

अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ। अस्थायी दरबन्दीभित्र करारमा कर्मचारी भर्ना गरिएको र आयोजना प्रमुखले आफ्नो आवश्यकता हेरेर ज्यालादारी कर्मचारी भर्ना गर्ने गरेको कर्मचारी प्रशासन शाखाका अधिकारीहरूको भनाइ छ।

विभागका महानिर्देशक रामचन्द्र दंगालले करिब ६ सय कर्मचारी करार तथा ज्यालादारीमा कार्यरत रहेको स्वीकार गरे। ‘उनीहरू पनि नेपाली नागरिक नै हुन्। एकजनाको भरमा सिंगो परिवार आश्रित हुन्छ,’ दंगालले भने, ‘करारमा कार्यरत कर्मचारीले कार्यालयमा काम गरेरै खाएका हुन्छन्। त्यसैले सकेसम्म कर्मचारी नहटाऔं भन्ने हाम्रो नीति हो।’ लामो समयदेखि करारमा काम गरेका कर्मचारीलाई हटाउँदा कार्यालयको कार्यसम्पादनमा समेत अप्ठ्यारो पर्ने उनले बताए।

उपमहानिर्देशक चक्रवर्ती कण्ठले निर्माण कार्य सुपरिवेक्षण तथा अवलोकन गर्न स्थायी कर्मचारीले मात्र नभ्याउने भएकाले करार तथा ज्यालादारीमा कर्मचारी राख्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘हामीले आवश्यकता हेरेरै राखेका हौं, कसैको दबाबमा होइन।’ आजको नागरिक दैनिकमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस