धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सिडिओ तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

सिडिओ गौतमसहित गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुसालमाथि मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन बिचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ भने नक्कली मोही बनेर रकम लिएको आरोपमा सूर्यनारायण लाल कर्ण, उनलाई सहयोग गर्ने भाइ उपेन्द्रलाल कर्ण कायस्थ र छोरा मनोजलाल कर्ण, श्रीमती बिन्दादेवी कर्ण पनि विपक्षी छन् ।

मुद्दा दायर हुनेमा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्ण रहेका अख्तियारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस