विधायन समितिद्वारा नागरिकता विधेयक हुबहु पारित

जनकपुरधाम । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई बहुमतले पारित गरेको छ ।

आज बसेको समितिको बैठकबाट सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बिना संशोधन बहुमतबाट पारित गरेको हो । संघीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो ।

सो विधेयक गत साउन ६ गते संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरूमध्ये एमालेका तीन जनाले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरू यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।

विधायन समितिले भोली राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ भने राष्ट्रिय सभाले पनि भोली नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस