नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित पार्न षड्यन्त्र हुँदैछ : उपेन्द्र

राजविराज, १७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली नागरिकलाई नै नागरिकता पाउनबाट वञ्चित पार्नका लागि षड्यन्त्र भइरहेको दावी गरेका छन् । शुक्रवार सप्तरीको महादेवा गाउँपालिकास्थित आयोजना गरिएको ‘वृहत पार्टी प्रवेश कार्यक्रम’मा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘देशका शासक वर्गले नेपाली नागरिकलाई नागरिकतासम्म दिन नचाहेको छैन’ उनले भने ‘नागरिकता विहीन पार्नका लागि अनेक षड्यन्त्र हुँदैछ ।’ उनले मधेशीको एकतालाई फोड्नको लागि एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘एमालेले नागरिकता विधेयक पास गर्न नचाहेकै कारण राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन सकेन’ उनले भने ‘आफुहरु जनताको अधिकार सुनिश्चितताका लागि तत्पर रहेकोले पुनः सो विधेयक प्रमाणीकरणको पठाइने र यस पटक प्रमाणीकरण पनि हुनेछ ।’

अध्यक्ष यादवले मधेश आन्दोलनको कारणले नै मधेशी लगायतका उत्पीडित समुदायले मधेश प्रदेश सहितको स्वाभिमान र सम्मान पाएको जिकिर गरे । ‘मधेश आन्दोलनकै कारण मधेशीलाई धोती भनेर हेप्ने प्रवृत्ति अन्त्य भएको छ’ उनले भने ‘अझ आन्दोलनबाट प्राप्त अधिकारहरुको रक्षाका लागि संघर्षको आवश्यकता छ ।’

उनले आन्दोलनको बलबाट प्राप्त भएका उपलब्धीहरुको रक्षाकालागि गठबन्धनको आवश्यकता बताए । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनको आवश्यकता छ’ उनले भने ।

जसपा महादेवा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रवक्ता मनिष कुमार सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.सुर्यनारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका राजनीतिक समिति सदस्य शिव बहादुर बस्नेत, पुर्व सांसद सरिता यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले मन्तव्य राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस