विराटनगरमा जन्मदिन मनाएर फर्कदै गरेकी युवतीमाथि सामूहिक बलात्कार

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जन्मदिन मनाएर घर फर्कंदै गरेकी वडा नम्वर १८ बस्ने ती युवतीमाथि शुक्रवार राति करिब पौने १० बजेतिर सामूहिक बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार ती युवती विराटनगरस्थित एक होटलमा जन्मदिन मनाएर आफ्नो प्रेमीसँग मोटरसाइकलमा बसेर घर फर्कंदै थिइन् । स्थानीय जतुवाचोक नजिकै नहरमा कुराकानीका लागि केही बेर उनीहरू रोकिएका थिए ।

त्यहाँ मादकपदार्थ सेवन गरेका पाँचजनाको समूहमा रहेका युवाले प्रेमीलाई नियन्त्रणमा लिएर युवतीमाथि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाइएको छ । युवा समूहको नियन्त्रणबाट भाग्न सफल भएका उनका प्रेमीले गाउँमा होहल्ला गरेपछि ती व्यक्तिहरू युवतीलाई छाडेर भागेका थिए । कुटपिट समेत गरेकाले किशोरीका प्रेमी र उनको शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

बलात्कार घटनाका आरोपमा विराटनगर–४ इकराहीका २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस