सप्तरीमा चारवटै निर्वाचन क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्रको नाम सिफारिस

राजविराज, २० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीले चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि कुल १३ जनाको नाम सिफारिसमा परेकामध्ये चारवटै क्षेत्रबाट अध्यक्ष यादवको नाम सिफारिस भएर आएको जिल्ला कोषाध्यक्ष वृजमान तामाङले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्रमध्ये एउटामा अध्यक्ष यादवको सर्वसम्मतले सिफारिस गरिएको छ भने अन्य तीन वटामा १२ जनामध्ये अध्यक्षको नाम पनि सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्वर २ बाट अध्यक्ष यादवको नाम सर्वसम्मतले सिफारिस भएर आएको कोषाध्यक्ष तामाङले बताए ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्वर १ मा अध्यक्ष यादवसँगै नवलकिशोर साह ‘रामबाबु’ र डा.सुर्यनारायण यादवको नाम सिफारिस भएको छ । साह पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री हुन् भने सिफारिसमा परेका डा.यादव प्रतिनिधि सभा सदस्य हुन् । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यस्तै, क्षेत्र नम्वर ३ बाट अध्यक्ष यादवसँगै पार्टीका राजनीतिक समिति सदस्यहरु शैलेन्द्र प्रसाद साह, कैलास प्रसाद यादव र विशेश्वर रजक तथा केन्द्रीय समिति सदस्य शियाराम साह प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका हुन् ।

मधेश प्रदेशका अर्थमन्त्री समेत रहेका शैलेन्द्र यसअघि क्षेत्र नम्वर २ (क)बाट निर्वाचित भएका थिए ।

त्यस्तै, क्षेत्र नम्वर ४ बाट पनि अध्यक्ष यादवको नाम सिफारिसमा परेका छन् । यादवसँगै मनोज यादव, मनोजकुमार यादव र हेमायु हक प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाको मेयरमा निर्वाचित भएका हक पछिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस