धनुषाको ४ क्षेत्रका लागि जसपाबाट १२ जनाको नाम सिफारिस (सूचीसहित)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले धनुषाको ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमध्ये २ जना जनकपुरधामकै मेयरमा पराजित उम्मेदवार पनि छन् ।

सरकारले मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरेसँगै जसपाले तयारी तीब्र पारेको छ । निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर १ बाट दीपक कार्की एकलरूपमा सिफारिस भएका छन् ।

२०७४ को निर्वाचनमा कार्की नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवसँग पराजित भएका थिए । यादव २६ हजार ४१८ मत ल्याएर विजयी हुँदा कार्की १७ हजार २२९ मत पाएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ बाट पाँचजनाको नाम बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देवकृष्ण मण्डल र रामशंकर पासवानको नाम जसपा क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको छ ।

प्रतिनिसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका महतो स्वतन्त्रबाट जनकपुरधाममा मेयरमा चुनाव लडेर पराजित भएका थिए । मेयरमा पराजित भएलगत्तै उनी जसपामा अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका थापेर प्रवेश गरेका थिए । पाँचजनाको नाम सिफारिस भएपनि महतो नै उम्मेदवार हुने जसपा स्रोतले जनाएको छ ।

२०७४ को निर्वाचनमा यहाँबाट उमाशंकर अरगरिया विजयी भएका सांसद हुन् । तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)बाट विजयी अरगरिया लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा पुगेपछि जसपाले महतोलाई अगारि सारेको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुर जसपाको उम्मेदवार सिफारिस भएका छन् । जसमध्ये साह जनकपुरधामका निवर्तमान मेयर हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा उनी मेयरमा पराजित भए । उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्राथमिकतामा परेका छन् ।

०७४ को निर्वाचनमा क्षेत्र नम्वर ३ बाट जसपासँग गठबन्धन गरेको तत्कालिन राजपाको तर्फबाट उम्मेवार बनेका राजेन्द्र महतो विजयी भएका थिए ।

यस्तै क्षेत्र नम्बर ४ मा जसपा क्षेत्रिय कमिटीले महाजन यादव र बलराम महतोलाई उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्वर २ बाट उम्मेदवार सिफारिस महतो क्षेत्र नम्वर ४ बाट पनि सिफारिसमा परेका हुन् ।

यादव ०७४ को निर्वाचनमा पनि उम्मेदवार थिए । नेकपा एमालेबाट २२ हजार ५३२ मत ल्याएर रघुबीर महासेठ निर्वाचित हुँदा यादव १९ हजार ६६२ मत पाएका थिए । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव त्यतिबेला १९ हजार ९९१ मत ल्याएर निकटम प्रतिद्वन्दी बनेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस