प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।

उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

‘उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ ।’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवार विरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ ।

तर, मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट गलत भएको पाइएकोले उजुरी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस