एक दशकमा पनि बनेन बनैनियाँ–कुरनमा जोड्ने पुल

राजविराज, ३ पौष । सप्तरीको राजगढ गाउँपालिका–६ स्थित बनैनियाँ–कुरनमा गाउँलाई जोड्ने मुतनी खोलामा पुल निर्माण सुरु भएको एक दशक वितिसक्दा समेत पूरा हुन सकेको छैन् । २०६९ सालमै २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु भएको थियो ।

कुल १ करोड ७ लाख रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको सो पुलको ठेक्का काठमाण्डौस्थित नीलगिरी कन्सट्रक्सनले पाएको थियो । तर, कम्पनीले सुरुको ६ वर्ष लगाएर पनि दुई वटा वेल (पिलर) बाहेक कुनै काम गर्न सकेको छैन् ।

अहिले ४ वर्ष यता पुल निर्माण कार्य अलपत्र छाडेर निर्माण कम्पनी समेत वेपत्ता हुँदा यस भेगका हजारौं सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । ‘निर्माण कम्पनीको लापरवाही र सरोकारबालाको उदासिनताले जिल्लाको अति पुरानो सडकमध्येको यो सडक सधैं उपेक्षाको सिकार रहँदैआएको छ’ रामेश्वर मुखियाले भने, ‘खोलामा पुल नबन्दा बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, कुरना, फकिरा, इनर्वा, कन्कटा लगायतका डेढ दर्जन गाउँका ७ हजारबढी सर्वसाधारणलाई आवत जावत गर्न समस्या हुँदै आएको छ ।’

सुखायाममा त्यति कठिनाइ नभएपनि वर्षाको बेला ४ महिनासम्म बनैनियाँ र बरदाहीका वासिन्दालाई छिन्नमस्ता बजार र सदरमुकाम राजविराजसम्मको सम्पर्क नै टुट्ने गरेको मुखियाको भनाई छ ।

अर्का स्थानीय प्रमोदकुमार साफीले जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खोला वारपार गर्न सबैभन्दा बढी अप्ठ्यारो हुँदै आएको दुखेसो गरे । ‘असारदेखि असोज महिनासम्म त आवतजात गर्नसक्ने अवस्था नै रहदैन्’ उनले भने, ‘खोला पारी नै प्राथमिक र माध्यमिक विद्यालय छ, ती चार महिनाको अवधिमा बालबालिकाहरु विद्यालय जानबाट समेत वञ्चित रहने गरेका छन् ।’

भारतीय सिमावर्ती क्षेत्रको मुख्य सडकमा पर्ने सो खोलामा पुल निर्माण कार्यलाई अघि बढाउनका लागि सबैतिर गुहार गर्दा समेत कसैको ध्यान नपुगेको साफीको गुनासो छ । ‘अझैं पुल कहिले बन्लान भन्ने कुनै टुंगो छैन्’ उनले भने ।

उता, गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले बनैनियाँ–कुरनमालाई जोड्नका लागि सो पुल अति आवश्यक रहेपनि निर्माण कम्पनी सम्पर्कमै नरहेको बताए । ‘त्यस भेगका जनतालाई आवतजावत गर्न कठिनाई भइरहेकोले सो पुलले पूर्णता पाउनुपर्छ भन्ने कुरामा दुईमत छैन्, तर निर्माण कम्पनी नै सम्पर्कमा छैन्’ उनले भने, ‘म प्रयास गर्छु, सो कार्यमा यहाँहरुको पनि साथ र सहयोग चाहिन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस