३ करोडमा मेरो इज्जत किन्न खोज्यो, कुनै पनि हालतमा डिभोर्स दिन्न: नेहा चौधरी

जनकपुरधाम । दाइजोको कारण घरेलु हिंसाको शिकार बनेकी नेहा चौधरीले डिभोर्स गरेर अलग हुन आफूलाई श्रीमानको घरबाट ३ करोडको अफर गरेको खुलासा गरेकी छन् ।

पीडित नेहाले काठमाडौंस्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी उक्त खुलासा गरेकी हुन् । उनले जति लोभ दिए पनि आफूले कुनै पनि हालतमा डिभोर्स नदिने बताइन् ।

‘धेरैले मलाई भन्छन्, पैसाको लागि यस्तो गरेकी हो’, उनले भनिन्, ‘३ करोड रुपैयाँ कम्ति पैसा हो ? अहिलेसम्म मैले यति धेरै पैसा एकैपटक देखेको पनि छैन । ३ करोड लिएर कुरा टुङ्ग्याउ भनेर मलाई भनेको छ । कसरी टुङ्ग्याउँ ? ३ करोडमा मेरो इज्जत किन्न खोजेको हो ?’

उनले अर्को बिहे गर्न खोजेको र पैसाकै लागि यस्तो गरेको भनेर भ्रम फैलाउँदा दुःख लाग्ने गरेको बताइन् । उनले आफू अहिले पनि डा. पंकज चौधरीसँगै बस्न चाहेको बताइन् ।

नेहाले भनिन्, ‘म अलग हुन चाहेको भए उहाँ (पंकज) जस्तै अदालत पुग्थे र डिभोर्स गरिहाल्थे नि !’

उनले आफ्नो श्रीमानको घरमा जानसमेत प्रशासनले रोक लगाएको गुनासो गरिन् । उनले भनिन्, ‘रामगोपालपुर आएपछि उठाएर थुनिदिन्छु भन्ने थ्रेट दिएको छ । मलाई माइतमा पनि बस्न दिएको छैन । के सम्बन्ध विच्छेद नभएसम्म म आफ्नै घरमा बस्न नपाउने ?’

चाहेको वेला बिहे गर्ने र ६ महिना नबित्दै डिभोर्स दिनेक्रम मधेसमा बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो इज्जतसँग खेल्यो र अहिले डिभोर्स दिन भन्दैछन् । यसो गर्न मिल्छ ?’

उनले अदालतमा श्रीमान डा. पंकजसहित ६ जनाविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्ध मुद्दा दर्ता गराएकी छन् । सो मुद्दामा उनका श्रीमान डा. पंकज पक्राउ परिसकेका छन् । अन्य ५ जना फरार छन् । फरार सबैलाई पक्राउ गर्न पनि नेहाले माग गरेकी छन् ।

महोत्तरीको औरही १ की नेहाको गत फागुनमा रामगोपालपुर ५ का डा. पंकजसँग विवाह भएको थियो । दाइजोमा नगद र सुनचाँदी गरी करिब १ करोड बढी रुपैयाँ नेहाका परिवारले दिएको थियो ।

तर, अझै थप दाइजो दिनुपर्ने भन्दै डा. पंकजका परिवारले नेहामाथि यातना दिएको उनले बताएकी छन् । निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेपछि नेहाले न्यायका लागि न्यायालय र प्रहरी प्रशासन गुहारेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस