विकासको हिसाब नगरी संघीयताले खर्च बढायो भन्नेहरूसँग सहमत छैनः मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई संस्थागत गर्न मधेस प्रदेशसभामा रहेका दलहरू एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयताविरुद्ध अहिले पनि कतिपय दलहरू लागेको भन्दै त्यसलाई निरुत्साहित गर्न एकताबद्ध भएर अगाडि बढनुपर्ने बताए ।

मधेस आन्दोलनको जगमा मुलुकमा संघीयता आएको दावी गर्दै राउतले सोही कारण संघीयता संस्थागत गर्ने जिम्मेवारी पनि आफूहरूको बढी भएको टिप्पणी गरे ।

‘प्रदेश सरकार जुन पार्टीको होस्, मुख्यमन्त्री जुन सांसद बनोस्, त्यो ठूलो कुरा होइन । सत्ता फेरिइरहने कुरा हो,’ राउतले भने, ‘अब बन्ने सरकार विगतको भन्दा बढी दलसँग मिलेर बन्ने अवस्था छ । आज म सत्तामा छु, भोलि अन्य पार्टीको साथी सत्तामा आउँछन्, यो आउने जाने क्रम चलिरहन्छ ।’

संघीयता आएपछि मुलुकमाथि अनावश्यक आर्थिक भार बढ्यो भन्ने जमातहरूको स्वर चर्को बनेको उनले बताए । तर, प्रदेश सरकारले गरेको विकास नहेरी खर्च मात्र भयो भन्ने उक्त दावीमा आफू सहमत नरहेको उनको भनाइ छ ।

‘एक अनुसन्धानले संघीयता आएपछि ४ प्रतिशत खर्च बढेको देखाएको छ । तर त्यो अनुसन्धानसँग म सहमत छैन । त्यसमा प्रदेशको जुन खर्च देखाइएको छ, त्यो सत्य होइन त्यो भन्दा निकै कम खर्च हुन्छ,’ राउतले भने, ‘अनुसन्धानमा खर्चको कुरा मात्रै देखाएको छ । विकासको कुरा कहीँ देखाएको छैन । प्रदेश सरकारले विगत पाँच वर्षमा गरेको विकास निर्माणलाई हेर्ने हो भने धेरै सुधार भएको छ ।’

शून्यबाट सुरुवात भएको प्रदेश सरकारले सीमित साधन स्रोतको सदुपयोग गरी प्रदेशको चौतर्फी विकासमा ध्यान दिएको दावी गरे । प्रदेशसभाका ज्येष्ठ सदस्य नेकपा एसका सांसद गोविन्दबहादुर न्यौपानेले सभाको अध्यक्षता गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस