डाक्नेश्वरीका फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

राजविराज, २१ पौष । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्षलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ छन् । मियाँलाई बिहिवार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

दुई वर्षअघि उच्च अदालत जनकपुर, राजविराज इजलासमा दर्ता भएको मुद्दाअनुसार अघिल्लो पटक पनि वडाध्यक्ष रहेको बेला मियाँसहितकाले झण्डै ९० जना सर्वसाधारणको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४÷०७५, ०७५÷०७६ र ०७६÷०७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भएपनि किर्ते जालशाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएको मुद्दामा उल्लेख रहेको छ ।

वडा कार्यालयले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता सम्बन्धी विवरण र सो आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीवाट प्राप्त नागरिकता नम्बरहरुको विवरणबाट पनि उनीहरुले एउटै नम्वरको नागरिकतामा फरक फरक व्यक्तिको फोटो राखेर नागरिकता प्रतिलिपी तयार पारेको पाइएको थियो ।

त्यसपछि, सोही ठाउँका अरुणकुमार यादव लगायत स्थानियहरुले २०७७ साल असारमा वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा भत्ता निकासा दिने स्थानिय बैंकवाट आवश्यक कागजातहरु संकलन गरी विवादित देखिएका व्यक्तिको नाम र नागरिकता नम्बर जिल्ला प्रशासन कार्यालय सप्तरीवाट मिलान गर्दा भत्ता निकासा गरिएका ९० जनाको विवरण फर्जि रहेको देखिएको थियो ।

सोहि आधारमा यादव नै निवेदक भई २०७७ असार १७ गते वडाध्यक्ष मियाँ, वडा सदस्य बेचन यादव, वडा सचिव बिनोद ठाकुर र वडामै कार्यरत करारका कर्मचारी जगदिश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । तर, कार्यालयले भने जाहेरी दर्ता गर्न मानेन् ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि जाहेरीकर्ता जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालय पुगेका थिए । ०७७ असार २६ गते जिल्ला न्यायाधिवक्ता कैलाश दहालले जाहेरी उपर नियमानुसार कार्वाही थाल्नु भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरे । तर, त्यसको ९० दिनसम्म पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि जाहेरीकर्ता उच्च अदालत जनकपुर, राजविराज इजलासमा उजुरी दर्ताका लागि परमादेश मुद्दा दायर गरेपछि ०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता भएका थिए ।

पक्राउ गरिएका वडाध्यक्ष मियाँलाई अदालतमा हाजिर गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस