आईडियल सहकारीको शेयर पुँजी १० करोड नाघ्यो

राजविराज, २३ पौष । आईडियल सहकारी संस्था लिमिटेड राजविराजको शेयर पुँजी १० करोड नाघेको छ ।

शनिवार संस्थाको २३ औं साधारण सभामा संस्थाका अध्यक्ष गणेशकुमार आशले प्रस्तुत गरेको प्रतिवेदनअनुसार शेयर पुँजी १० करोड ३३ लाख ७५ हजार १ सय पुगेको हो । गत वर्षसम्म संस्थाको कुल ८ करोड २० लाख ४० हजार ५ सय रुपैयाँ संस्था शेयर पुँजी रहेको थियो ।

२०५६ सालमा ४२ जनाको समूहबाट सुरु भएको संस्थामा हाल ६ हजार ७ सय ५८ महिला र ८ हजार २१ पुरुष गरी १४ हजार ७ सय ७९ जना शेयर सदस्य पुगेका छन् ।

चालु आर्थिक वर्षको असार मसान्त कुल ९५ करोड ३५ लाख १७ हजार ४२ रुपैयाँ बचत संकलन रहेको संस्थाबाट ९३ करोड ७ लाख ६३ हजार ४० रुपैयाँ ऋण लगानी भएको अध्यक्ष आशले प्रतिवेदनमार्फत जानकारी दिए । संस्थाले अधिकतम पेपर–लेस कारोबार गर्दै आएको उनले बताए ।

राजविराज बोहक जिल्लाको हनुमाननगर र पातोबाट शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको संस्थाले मिस्डकल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, फण्ड ट्रान्सफर सेवा, ईसेवा वाईलेटमा लोड, एटीएम लगायतका सेवाहरु पनि दिँदै आएको अध्यक्ष आशले बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष आशकै अध्यक्षतामा आयोजना गरिएको सभामा संस्थाका सचिव शैलेशकुमार चौधरीले स्वागत गरेका थिए भने उपाध्यक्ष विजयानन्द झाले लेखा प्रतिवेदन प्रस्तुत गरे ।

सभामा संस्थाका व्यवस्थापक विनोद कुमार साफी, कोषाध्यक्ष मञ्जु देवी साह, सञ्चालक समिति सदस्य कौशल्याकुमारी रजक लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी राजेश झाले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस