‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ म्युजिक भिडियो सार्वजनिक (भिडिओ)

राजविराज, २३ पौष । सप्तरी जिल्लाको पहिचान, स्वाभिमान र संस्कृती झल्किने सप्तरी गान ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ मैथिली म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

संविधानसभा सदस्य एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको सहयोगमा निर्माण भएको उक्त म्युजिक भिडियो जननी फिल्म्स् नामक युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको हो । उनी २०७० मा निर्वाचित भएपछि अन्य क्षेत्र जस्तै कला, साहित्य र संस्कृतिको संरक्षण सम्वद्र्धन हुनुपर्छ भने सोचका साथ‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रीन राजविराज क्लिन राजविराज, अपन गाम सुन्दर ठाम बोलको गीत खुल्ला प्रतिष्पर्धाबाट छनौट भई रेकर्डिङ्ग गरिएको थियो । गीतको छनौट समितिमा वरिष्ठ पत्रकार स्व. शिवहरि प्रसाद भट्टराई, व्यासशंकर उपाध्याय र श्यामसुन्दर यादव रहेका थिए ।

साहित्यकार सागरवीर कडारीको शब्द रचना रहेको उक्त गीतमा शैलेन्द्र विश्वकर्मा, कैलाश झा, देवेन्द्र सोनी, अञ्जु यादवलगायतका गायक–गायिकाको सु–मधुर स्वर रहेको छ । जिल्लाको पहिचान, स्वाभिमान एवम् गौरवगाथा वर्णन गरिएको उक्त गीतमा चर्चित सङ्गीतकार शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको छ ।

भिडियोमा नायिका डोली सरकार र नायक सौरभ चौधरीको मुख्य भूमिका रहेको छ । भिडियोको सम्पादन सूर्यनारायण साह ‘बैजु’, प्रेम राउत र श्यामसुन्दर यादवले गरेका छन् । राजविराजको रेणुका रेकर्डिङ्ग स्टुडियोमा अडियो रेकर्डिङ्ग भएको उक्त गीतको निर्देशन नायिका डोली सरकारले गरेकी छिन् ।

डोली र सौरभका अतिरिक्त चर्चित मोडेलहरु ऋषिका चौधरी, मुकेश यादव, खलनायक फिरोज खान, नवीन, तुलसी सिंह, गायक कैलाश झा, देवेन्द्र सोनी, अन्जु यादव, सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, गीतकार सागरवीर कडारी, कल्पना सरकार, चम्पा विश्वकर्मा, अञ्जली कार्की, सुनिता ईशर, पल्लवी मिश्रा, हेमा ईशरलगायतका कलाकारहरुको अभिनय रहेको छ । छायाङ्कन चर्चित क्यामेराम्यान विनोद सापकोटा, ड्रन छायाङ्कन नगिन धिमाल तथा भिडियोको परिकल्पना एवम् संयोजन श्यामसुन्दर यादवले गरेका छन् ।

विभिन्न धर्म सम्प्रदायको पहिचान, संस्कृति, धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थल, कृषि, परिवेश, ऐतिहासिक आन्दोलनका साथै विविध महत्व झल्काउने विषयवस्तुलाई भिडियोमा देखाईएको छ । यस अतिरिक्त सप्तरीका युवाहरुले जिल्लामा थालेको ऐतिहासिक ५० हप्ते सरसरफाई अभियानका केही दृष्यहरु समेत समावेश गरिएको छ ।

एउटै गीतमा एकसाथ ४० जना भन्दा बढी कलाकारहरुको प्रयोग गरिएको सप्तरी गान जिल्लाकै म्युजिक भिडियोको इतिहासमा पहिलो भएको जननी फिल्म्स् प्रा.लि.की सञ्चालक समेत रहेकी गायिका अन्जु यादवले जानकारी दिएकी छिन् । सप्तरी गानको अडियो र भिडियो निर्माण कार्यमा आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वहन गर्ने सबैलाई उनले धन्यवाद् दिएकी छिन् ।

करिब ७ वर्ष अघि छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो प्राविधिक कारणवश सार्वजनिक गर्न ढिलाई भएको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका संविधानसभा सदस्य एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले बताए । समग्र सप्तरीको पहिचान झल्काउने यो गीतलाई सबैले मन पराएर शेयर गरी जनजनमा पुर्याउनेमा आफु आशावादी रहेको उनले विश्वास व्यक्त गरे । कलाकारहरु समाज र राष्ट्रको गौरव भएकाले संरक्षण एवम् प्रवद्र्धन हुनुपर्नेमा जोड दिँदै उनले भने ‘कलाको माध्यमले थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ, त्यसैले ’सप्तरी जिल्लाको पहिचान र विविधतालाई सप्तरी गान मार्फत उजागर गर्ने प्रयास गरेको छौं ।’

हेर्नुहोस् भिडियो :

Author:



क्याटोगरी छान्‍नुहोस